कास्की – पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ ।