काठमाडौं – साताको पहिलो दिन आज आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको हो ।

आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै जीवन बीमा समूहको शेयर चार सय १२ र निर्जीवन बीमा कम्पनीको शेयर तीन सय ७४ अङ्कले बढेको छ । नेप्से सूचक बढेको दिन दुई सय २० वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर चार अर्ब ६० करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज नेपाल इन्सुरेन्स, नेको इन्सुरेन्स, आईएमई जनरल इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, एनएलजी इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, स्वाभिमान लघुवित्त र युनाइटेड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि नेपाल हाइड्रो पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।