म्याग्दी – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित कार्यालयमा पुग्नुभएको थियो । उहाँले भन्नुभयो, “साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ । मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो ।”

मङ्गलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै अन्यत्र सरुवा भएको थियो । बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मङ्गलामा सरुवा गरेर पठाएको हो । पालिकाले हाजिर नगराएपछि बागलुङ फर्कनुभएका कार्कीले मन्त्रालयमा जानकारी गराउने बताउनुभयो ।

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले “मन्त्रालयले एक जनालाई भनेर अर्कालाई सरुवा गरेर पठाएकाले हाजिर नगरी फिर्ता गरेको” प्रतिक्रिया दिनुभयो । “उहाँ (कार्की) पनि सल्लाह समन्वय नगरी सरुवा भएर आउनुभयो”, अध्यक्ष रोकाले भन्नुभयो, “मन्त्रालयले एउटालाई भनेर अर्कालाई सरुवा गरेर पठाएछ ।”

काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने अध्यक्ष रोकाले बताउनुभयो । प्रशासकीय अधिकृत ढुङ्गानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । रासस