नेपालीहरूको प्रमुख रोजगारदाता देश यूएईको आबुधाबीमा मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाखभन्दा धेरै चालकलाई प्रहरीले कारवाही गरेको छ । उक्त कारबाहीमा १ हजारभन्दा बढी नेपाली कामदारसमेत परेको यूएई प्रहरीले जनाएको छ । यूएई प्रहरीका अनुसार यसरी गरिएको कारबाहीमा ४० प्रतिशत विदेशी चालक परेका छन् ।

यही अङ्ग्रेजी वर्षको पहिलो ६ महिनामा १ लाख ५ हजार ३ सय जनालाई यस्तो कारबाही गरेको आबुधाबी प्रहरीको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले समाचार लेखेको छ । मोबाइलले चालकको ध्यान भड्काउने र गाडी चलाउनमा होसियार नहुँदा सडक दुर्घटना हुने गरेको भन्दै प्रहरीले यस्तो कारबाही गर्न गत जनवरीदेखि थालेको हो । यूएईमा सडक सुरक्षालाई महत्त्वपूर्ण रूपमा हेरिन्छ । यस्तो अपराधलाई आबुधाबी प्रहरीले नियमको गम्भीर उल्लङ्घनको रूपमा लिएको छ ।

कारबाहीमा परेका चालकलाई ८ हजार दिराम जरिवाना र सवारीचालक परिचयपत्रमा चारवटा कालो दाग लगाउने गरेको छ । यसरी चालकले गाडी हाँकिरहेको बेला ध्यान भड्किने किसिमका गतिविधि गरेमा, मोबाइल चलाएमा तथा हातको प्रयोग हुने कुनै पनि अन्य गतिविधि गर्नुलाई नियमको गम्भीर उल्लङ्घन गरेको जनाएको छ ।