काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । उतार–चढावकाबीच नेप्से परिसूचक १५ अङ्कले बढेको हो । मौद्रिक नीति यता सुधार देखिएको सेयर बजारमा मङ्गलबार एकाएक उच्च अङ्कको गिरावट आए पनि त्यसयता पुनः क्रमिक सुधार देखिएको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा चार अर्ब ९७ करोडमाथिको कारोबार भएको छ । करिब पाँच अर्बमाथिको कारोबार भएको सेयर बजारमा आज सर्वाधिक अरुण काबेली पावरको सेयर खरिद–बिक्री भएको छ । कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोसीको १४ करोड १७ लाख, अपी पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।