काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझसम्मा सार्वजनिक गर्दैछ । परीक्षा बोर्डको बैठक सुरु भएको छ । बैठक सकिए लगत्तै नतिजा सार्वजनिक हुने बताइएको छ । यसपटकको एसईई परीक्षामा जीपीए चार अर्थात् ए प्लस ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६ सय ३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले आज दिउँसो तीन बजे नजिता सार्वजनिक गर्ने भनिएता पनि बैठक लम्बिएको कारण नतिजा प्रकाशनमा ढिलाई भएको बताइएको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए ।