काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक ५४ दशमलव ४५ अङ्कले बढेको छ । मौद्रिक नीतिको पहिलो कारोबारमा ६१ अङ्कले बढेको बजार आज सोही क्रमलाई निरन्तरता दिँदै २१३२ दशमलव ९६ बिन्दुमा पुगेर बन्द भई हरियाली छाएको छ ।

नेप्से परिसूचक ५४ दशमलव ४५ अर्थात २ दशमलव ६२ प्रतिशतले बढेको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ९दशमलव ०५ अंक बढेर ४०७ दशमलव ३८ मा उक्लिएको छ । आज कारोबार रकम पनि बढेको छ । उक्त दिन ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । उक्त दिन सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।

सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस्तै, उक्त दिन नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बढ्दो बजारमा आज कारोबार भएका ७ कम्पनीहरूमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । नारायणी विकास बैंक, मल्टी प्रपोज फाइनान्स, सूर्योदय लघुवित्त, ग्रीन डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रो हाइड्रोपावर, मानुषी लघुवित्त, बलेफी हाइड्रोमा सर्किट ब्रेक लागेको छ । आजको कारोबारमा उप–समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य बढेको छ ।