एजेन्सी – म्यान्मारको सैनिक शासनले एक पूर्व सांसदसहित चारजनालाई मृत्युदण्ड दिएकोे सरकारी सञ्चारमाध्यमले जनाएको छ । म्यान्मारले दशकौंपछि पहिलोपटक यसरी मृत्युदण्ड दिएको हो । मृत्युदण्ड दिइएकाहरुमा भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअ रहेका छन् ।

उनीहरुलाई आतङ्ककारी गतिविधिमा संलग्न रहेको आरोप लगाइएको बीबीसीको समाचारमा उल्लेख छ । चारै जनामाथि यसअघि जुन महिनामा मृत्युदण्ड दिइने घोषणा गरिएको थियो जसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।

प्रजातन्त्रवादी नेतृ आङ सान सू चीको सरकारलाई भङ्ग गरी सन् २०२१ फेब्रुअरीमा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो । सेनाको उक्त कदमको देशभित्रै ठूलो विरोध भए पनि सेनाले त्यसलाई क्रुरतापूर्वक दमन गरेको थियो । क्रूर तथा अमानवीय आतङ्कवादी गतिविधिको नेतृत्व गरेको आरोपमा ती चारैजनालाई मृत्युदण्ड दिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।