धनगढी – धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट स्रोत नखुलेको साढे १७ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई आज विहान धनगढीबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्ति टोलका १८ वर्षीय सरोज धामी र १७ वर्षीय विवेक चन्द रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीले जनाएको छ । सशस्त्र प्रहरीको टोलीले विहान साढे ५ बजे उनीहरुलाई रुपियाँसहित पक्राउ गरेको हो । उनीहरुको साथमा स्रोत नखुलेको १७ लाख ६६ हजार ६ सय ७० भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी अनुसार दुई हजारको ४८ थान, ५ सयको तीन हजार ३ सय ४१ थान, १००, ५० र २० को एक÷एक थान नोट रहेको छ । यसबारे थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइने सशस्त्र प्रहरी नायब निरीक्षक जोशीले जानकारी दिनुभयो ।