सर्लाही – सर्लाहीमा ४८ दिनदेखि बेपत्ता एक युवतीको शव फेला परेको छ । पर्सा गाउँपालिका–१ शीतलपुरकी २० वर्षीया निशा यादव हराएको ४८ दिनपछि शुक्रबार दिउँसो उनको शव फेला परेको हो । हत्यापछि आफ्नै खेतमा गाडिएको अवस्थामा निशाको शव फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेलले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र एसपी पोखरेलसहितको अनुसन्धान टोली घटनास्थल पुगेर धान खेतमा खाडल खनेर हेर्दा सडिसकेको अवस्थामा निशाको शव फेला परेको हो । निशाको हत्यामा संलग्न आरोपमा प्रहरीले निशाका श्रीमान् बालदत्त भनिने रमजेशकुमार यादव, ससुरा रामप्रताप यादव र देवर राजु यादवलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको छ । दाइजो कम ल्याएको निहुँमा निशाको हत्या भएको आशंका छिमेकीहरूले गरेका छन् । तर, प्रहरीले यस विषयमा प्रस्ट पारिसकेको छैन ।

महोत्तरीको सोनमा गाउँपालिका–१ मगरथाना निवासी कैलाश यादवकी छोरी निशाको डेढ वर्षअघि फागुनमा रमजेशकुमार यादवसँग मागी विवाह भएको थियो। केटाकेटी र दुवै परिवारबीच राजीखुसीमा विवाह भएको थियो । जिल्ला प्रही कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत रहेका डीएसपी विजय यादवका अनुसार निशा गत जेठ २२ गतेदेखि बेपत्ता थिइन् । ‘जेठ २१ गते श्रीमानसँग निशाको विवाद भएको रहेछ’, डीएसपी यादवले भने, ‘जेठ २२ गतेदेखि उनी बेपत्ता भएदेखि हामी अनुसन्धानमै थियौँ ।’ यादवका अनुसार पतिसँग विवाद भएपछि निशाले माइती पक्षलाई खबर गरेकी थिइन् । उनका बुवा निशालाई भेट्न जेठ २२ गते दिउँसो छोरीको घरमा पुगेका थिए ।

बुवा फर्किएपछि श्रीमानसहितका परिवारका सदस्य मिलेर त्यही दिन राति उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘हत्याराहरूले अपराध स्वीकारिसकेका छन्, उनीहरुले नै देखाएको ठाउँमा खनेर हेर्दा निशाको शव फेला परेको हो,’ डीएसपी यादवले भन्नुभयो । हत्यापछि घरबाट झण्डै चार किलोमिटर टाढा रहेको आफ्नै खेतमा लगेर खाडल खनी उनीहरुले निशाको शव पुरेका थिए । शव पुरेको ठाउँमा उनीहरुले धानसमेत रोपेका थिए । जुन अहिले हरियो भइसकेको छ । धानको गाभो सरेर हरियो भएको जमिनमा ६ फिट गहिरो र पाँच फिट लामो खाडल खनेर प्रहरीले निशाको सडिसकेको शव निकालेको हो । ‘शव केही जलेको छ । जुटको बोरा, पराल, रातो साडी पनि केही जलेको अवस्थामा शव फेला पारेका छौँ’, डीएसपी यादवले भन्नुभयो ।

निशाको हत्या गरेर खाडलमा पुरिसकेपछि पतिसहित परिवारका सदस्यले निशा घरबाट भागेर बेपत्ता भएको भन्दै माइती पक्षलाई खबर गरेका थिए । जेठ २३ गते बिहान छोरी खोज्दै पुगेका कैलाश यादवले छोरीलाई नभेटेपछि सोही दिन दिउँसो जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छोरीको फोटो र हुलियासहितको जाहेरी दिएका थिए । त्यसको भोलिपल्ट २४ जेठमा निशाका ससुरा रामप्रताप रायले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमै बुहारी घरबाटै बेपत्ता भएको भन्दै उनको खोजी गरिपाऊँ भनेर निवेदन दिएका थिए । दुवै निवेदनका आधारमा २४ जेठदेखि नै प्रहरीले निशाको खोजतलास तीव्र पारेको थियो ।

‘त्यतिबेलैदेखि नै हामीले निशाका पतिसहितका परिवारका सदस्यहरुलाई निगरानी गरिरहेका थियौँ । दुई÷चार दिन बिराएर उनीहरुलाई हामीले सोधपुछको लागि कार्यालयमा बोलाइरहन्थ्यौँ, उनीहरु आएर बयान दिँदै घर जाँदै गर्थे’, डीएसपी यादवले अनुसन्धान विवरण सुनाउँदै भन्नुभयो, ‘परिवारका सदस्य र अन्य सरोकारवालाहरुसँगको सोधपुछ तथा प्रविधिको विश्लेषण गर्ने क्रममा निशा कतै गएको, भागेको नभई उनको हत्या भएको निष्कर्षमा हामी पुग्यौँ । त्यसपछि मात्रै उनीहरुलाई हामीले पक्राउ गरेका हौँ ।