काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखापरेको तथा सरकारले चालु आर्थिक वर्षको बजेटमा लिएका नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर केन्द्रीय बैंकले नीति सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । आज शुक्रवार चालु आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनुभयो ।

गत आर्थिक वर्षमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो । त्यस्तै बैंकबाट हुने कर्जा केन्द्रिकरण घटाउने भएको छ । नीतिमा कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती गरिएको छ । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण समेत गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहने बताउनुभयो । गभर्नर अधिकारीले कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती गरेको बताउनु भयो । उहाँले कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गरिने बताउनुभयो । बैंकले नीतिमा कर्जाको अधिकरण कम गरी उत्पादनशील क्षेत्र र व्यापारीक क्षेत्रमा प्रवाह हुने ब्याजदरमा अन्तर कायम गर्ने भएको छ ।