काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार सेयर बजार २७ दशमलव २६ अङ्कले घटेको छ । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अङ्क घटेको थियो भने आज शुक्रवारको कारोबारमा पनि तीव्र उतार–चढावका बीच बजार ऋणात्मक भएको छ ।

हिजो बिहीवार ६ अङकले घटेर २०४४ दशमलव ७२ अङ्कमा ओर्लिएको सेयर बजार आज २७ दशमलव २६ अङ्कले घटेर २०१७ दशमलव ४६ मा ओर्लिएर साताको बजार बन्द भएको हो । आज शुक्रवार नेप्से परिसूचक १ दशमलव ३३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ३८ प्रतिशत घटेर ३८६ दशमलव २४ मा झरेको छ ।

शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३३ लाख २० हजार ५१२ कित्ता सेयर २३ हजार ८६८ पटकमा खरिद बिक्री भएको हो । बजार घट्दा आज कारोबार भएका १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । उप–समूह तर्फ शुक्रवार १३ ओटै समूहको सेयर मूल्य घटेको छ । घट्दो बजारमा किसान लघुवित्त, गणपति लघुवित्त, नयाँ सारथी लघुवित्त, सेन्ट्रल फाइनान्स, सानिमा लार्ज क्याप लगायतका कम्पनी सर्वाधिकमा परेका छन् ।