फाइल तस्वीर
हेटौंडा – नेपाली काङ्ग्रेस निकट पत्रकारहरुको साझा सङ्गठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । युनियनको नवौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन कार्यक्रमा बोल्दै ‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हकहित, व्यावसायिक विकास, पेशागत सुरक्षाको सवालमा सरकार पछि नहट्ने’ दावी गर्नुभएको छ ।

शुक्रवार र शनिबार गरी दुई दिनसम्म चल्ने महाधिवेशलाई सम्बोधन गर्दै नेपाली काङ्रग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपीको कोइराला स्मृति दिवसको दिन सरकार र हाम्रो पार्टीले प्रेस स्वतन्त्रतालाई अक्षुण राख्दै नेपालको पत्रकारितालाई दक्षिण एसियाकै उत्कृष्ट बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रेस स्वतन्त्रताको रक्षामा प्रेस युनियन समर्पित रहेको भन्दै मन्त्री कार्कीले नेपालमा श्रीलङ्काको जस्तो आर्थिक सङ्कट नभएको बताउँदै नेपालको अर्थतन्त्रमा केही समस्या देखिए पनि त्यो चाँडै सुधार हुनेमा आफु विश्वस्त रहेको धारणा व्यक्त गर्नुभएको छ ।

प्रेस युनियनको साल २०४८ मा स्थापना भए यता आम नेपाली पत्रकारको क्षेत्रमा गरेका कामहरू, अघिल्ला कालखण्डमा लोकतन्त्रप्रति देखाइएका आस्थापूर्ण प्रमाणहरू अतुलनीय रहेको भन्दै वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा शुरु भएको महाधिवेशनको उदघाटनका क्रममा प्रधानमन्त्री देउवाले संस्थाको मुखपत्र ‘युनियन पत्रिका’को विमोचनसमेत गर्नुभएको थियो ।

प्रेस युनियनको आगामी नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा अनिता विन्दु, शिव लम्साल, सन्तोष न्यौपानेलगायतका पत्रकारहरु चुनावी मैदानमा देखिएका छन् ।

युनियनको संशोधित विधान अनुसार नयाँ कार्यसमितिका लागि पदाधिकारीसहित एक सय चार सदस्य हुने व्यवस्था छ । सोका लागि महाधिवेशनमा निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।