काठमाडौं– आगामी सातादेखि भारतमा सुरु हुने यु–२० साफ च्याम्पियनसिप प्रतियोगिता खेल्न नेपाली युवा टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा विदाई कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय खेलुकद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङलगायत एन्फाका पदाधिकारीहरुले नेपाली टिमलाई बिदाइ गरेका हुन् ।

नेपाली टोली आजै भारत प्रस्थान गर्नेछ । भारतमा हुने प्रतियोगिताका लागि एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिमको प्रशिक्षकमा मेघराज केसी र व्यवस्थापक दिवाकर घले रहेका छन् । टिमको नेतृत्व कप्तान आयुष घलान गर्ने भएका छन् ।

भारतको भुवनेश्वरस्थित कलिङ्गा रङ्गशालामा २५ जुलाईबाट प्रतियोगिता सुरु हुनेछ । नेपालले पहिलो खेल २५ जुलाईमा माल्दिभ्सससँग भिड्ने तालिका छ । यसैगरी दोस्रो खेल २७ जुलाईमा श्रीलङ्क र तेस्रो खेल ३१ जुलाईमा भारतसँग भिड्ने भएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बङ्गलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यु–२० साफ च्याम्पियनसिप प्रतियोगिताका लागि आयुष घलानको नेतृत्वमा नेपाली टिम मैदानमा उत्रने छ । आयुष घलानको नेतृत्वमा रहेको नेपाली टिममा गोलकिपरमा ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख रहेका छन् भने रक्षा पङ्तीमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबाले खेल्ने छन् ।

मिडफिल्डरः आयुश घलान (कप्तान), दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी हहेका छन् भने स्ट्राइकरको जिम्मेवारीमा रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी रहेका छन् ।