फाइल तस्वीर
काठमाडौं – श्रीलङ्काको राजधानी कोलम्बोमा पाल टाँगेर अड्डा जमाइ बसेका प्रर्दशनकारीलाई त्यहान्को सुरक्षाकर्मीले हटाउन थालेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाए अनुसार राजधानी कोलम्बोमा पाल टाँगेर बसेका प्रदर्शनकारीका शिविरमा सुरक्षाफौजले छापा मार्दै प्रदर्शनकारीहरुलाई हटाउन थालिएको छ ।

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएलगत्तै सुरक्षाकर्मीले प्रदर्शनकारीलाई हटाउन सुरु गरेको हो । प्रदर्शनकारीहरुलाई हटाउने क्रममा सेनाले समाचार सङ्कलन गर्न पुगेका बीबीसीका पत्रकारमाथि पनि कुटपिट र दुव्र्यवहारसमेत भएको समाचारमा जनाइएको छ । प्रदर्शनकारीका पाल हटाउन लागेको सूचना पाएलगत्तै कोलम्बोस्थित राष्ट्रपति कार्यालय अगाडि पुगेका बीबीसीका पत्रकारको मोबाइल खोस्दै सुरक्षाकर्मीले मुक्का हानेको र मोबाइलमा रेकर्ड गरेको भिडियो हटाइदिएको बीबीसीले जनाएको छ ।

दङ्गा नियन्त्रणका लागि खटिने बेला मुख छोप्दै शरीर जोगाउन प्रयोग गरिने पोशाक लगाएर आएका सुुरक्षाकर्मीहरुले प्रदर्शनकारीका शिविरहरु भत्काइदिएका छन् । कोलम्बोमा अड्डा जमाएर बसेका प्रदर्शनकारीहरुमाथि सुरक्षादस्ताले बल प्रयोग गर्दै उनीहरुलाई धपाइएको छ ।

देशमा आर्थिक सङ्कट चुलिएपछि श्रीलङ्कामा तात्कालीन सरकारको विरोधमा व्यापक प्रदर्शनहरु हुनुको साथै केही हिंसाका घटनाहरु पनि घट्न पुगेका थिए ।

निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षको विरुद्ध प्रदर्शनकारीले राष्ट्रपति भवन नै कब्जा गरेपछि तत्कालीन राष्ट्रपति राजापाक्ष देश छाडेर भागेका थिए । राजपाक्षले पदबाट राजीनामा दिएपछि श्रीलङ्काको नयाँ राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री रनिल विक्रमसिंघे संसदबाट निर्वाचित भएका छन् । राष्ट्रपतिको शपथ ग्रहण र पदभार सम्हाले पछि सरकारी भवन कब्जा गर्ने र हिंसात्मक प्रदर्शन गर्नेहरुलाई कारवाही गर्ने अभिव्यक्ति दिएका थिए । सोही अनुसार त्यहाँको सेनाले प्रदर्शनकारीहरुलाई कोलम्बोस्थित राष्ट्रपति कार्यालय र आसपासको क्षेत्रबाट हटाउन सुरु गरेको छ ।

श्रीलङ्का चरम आर्थिक सङ्कटमा फसेपछि त्यहाँका जनता श्रीलङ्काली शासकका विरुद्ध सडकमा उत्रिएका थिए । जनता सडकमा उत्रिएपछि तात्कालीन राष्ट्रपति राजापाक्ष भागेर यतिबेला सिङ्गापुर पुगेका छन् । भागेर सिङ्गापुर पुगेका राजापाक्षलाई १० दिनको पर्यटक भिषा दिएको जनाएको छ ।