फाइल तस्वीर
सुडान – सुडानको ब्ल्यु नाइल राज्यमा कम्तिमा एक सय पाँच जनाको मृत्यु भएको छ । त्यहाँ जातीय हिंसा भड्किंदा यस्तो घटना घट्न भएको हो ।

उक्त हिंसाबाट दुई सय ९१ जना घाइते भएको ब्ल्यु नाइल राज्यका स्वास्थ्यमन्त्रीलाई उदृद्ध गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको सुडानी दक्षिणी राज्यमा जुलाई ११ तारिखदेखि बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच दोहोरो झडप भएको थियो । त्यहाँको स्थिति अहिले शान्त रहेको भन्ने स्वास्थ्यमन्त्रीको भनाइलाई समाचारमा उल्लेख गरिएको छ ।

ब्ल्यु नाइल राज्यका स्वास्थ्यमन्त्रीले बताए अनुसार सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । त्यहाँ पुनः झडपको सम्भावन अझै रहेकोले नाइल राज्यमा थप केही दिन सेना परिचालन हुने समाचारमा जनाइएको छ ।