कञ्चनपुरमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । पुनर्वास मोतीबस्तीका टेकबहादुर सार्कीले खुकुरी प्रहार गर्दा अमरैयाका ४७ वर्षीय बिरासिंह राना, ३८ वर्षीया मधु महता र ४५ वर्षीया धनसरा रावत घाइते भएका हुन् ।

घाइते मधुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिरासिंह र धनसराको बिएम पोलिक्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर घाइते रहेकी मधुलाई धनगढी ल्याइएको छ । मधुको टाउको र छातीमा गहिरो चोट लागेको छ ।

खुकुरी प्रहार गर्ने टेकबहादुर सार्कीलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । खुकुरी प्रहार गर्ने सार्कीको मानसिक अवस्था ठीक नभएको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।