जुम्ला – हिमा गाउँपालिकाले विद्युत् गृह भाँसिदा मृत्यु भएका तीन जनाको परिवारलाई एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताउनुभएको हो । घटनाको स्थलगत अनुगमनपछि बसेको कार्यपालिकाको बैठकले क्षतिग्रस्त विद्युत् गृहको निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले संङ्घीय सरकारको तर्फबाट पनि प्रतिव्यक्ति एक लाखको दरले राहत प्रदान गरिने जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविद्युत्को पावर हाउस पहिरोले भासिँदा विद्युत् अपरेटर गोरखबहादुर रावतकी श्रीमती र दुई छोरोको मृत्यु भएको थियो । रासस