काठमाडौं – आर्थिक वर्षको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक ७ दशमलव ९३ अङ्कले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो ।

दुई घण्टा अवधिमा कारोबारमा आएका २ सय ३१ धितोपत्रको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता शेयर २१ हजार ६ सय १५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३२ रूपैयाँ बराबरको शेयर खरीदबिक्री भएको छ । आज आर्थिक वर्ष २०७८÷७९ को अन्तिम कारोबार दिन हो । यस आर्थिक वर्षमा नेप्सेले ऐतिहासिक ३२ सय विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २ हजार विन्दुको वरिपरी रहेको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने बजार हल्लाले केहि दिनेदेखि लगातार बढिरहेको थियो । आज मात्रै अपरको १९ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ भने किसान लघुवित्तको ५ करोड ५८ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

त्यस्तै सर्वाधिक धेरै कारोबार हुने अन्य कम्पनीहरुमा क्रमशः हिमालयन डिट्रलरी ४ करोड ४८ लाख, अरुण काबेली पावर ४ करोड ३३ लाख, नेपाल एसबिआई बैंकको ४ करोड २४ लाख, शिवम सिमेन्टको तीन करोड ९९ लाख, कामना सेवा विकास बैंकको तीन करोड ६८ लाख, नेपाल बैंकको तीन करोड ४३ लाख र एनआईसी एशिया बैंकको तीन करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।