प्रतिकात्मक तस्वीर

काठमाडौं – नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार उनीहरूले सेवाग्राहीबाट जबरजस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो । पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । रासस