काठमाडौं – त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउने प्राध्यापकलाई कारबाही गर्ने भएको छ । रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्ति निकाल्दै कारबाही गरिने जनाएको हो । त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार हुबहु प्रश्न बनाउने शिक्षकलाई तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको जनाएको छ ।

व्यवस्थापन सङ्कायअन्तर्गत बीबीए छैटौँ समेस्टरको गत २२ असारमा एमजीटी २०३ अर्गनाइजेसनल बिह्याबियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजले प्रि–बोर्डमा सोधेको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । त्यस्तै, बीबीए छैटौँ सेमेस्टरको एसओसी २०२ नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको प्रश्नपत्रमा पाँचौँ सेमेस्टरको एसओसी २०१ सोसियोलोजी फर बिजनेसको हुबहु प्रश्न राखिएको थियो ।

उक्त प्रश्नपत्र बनाउने प्राध्यापकले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै त्रिविले ती प्राध्यापकलाई तीन वर्षसम्म परीक्षासँग सम्बन्धित कार्यक्रममा संलग्न नगराउने निर्णय पनि गरेको छ । विज्ञप्तिमा प्रश्नपत्र बनाउने शिक्षकहरूलाई ३ वर्षसम्म डीन कार्यालयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिवि अन्तर्गतका कुनै पनि आङ्गिक क्याम्पसहरूमा प्राध्यापन कार्यमा समेत संलग्न नगराउने बताइएको छ ।