फाइल तस्वीर

काठमाडौं – क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक जित हात पारेको छ । अङ्क तालिकामा महत्वपूर्ण दुई अङ्क जोड्ने क्रममा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो ।

टस जितेर नेपालले पहिला बलिङ गरेको थियो । स्कटल्यान्ड १४४ रनमा अलआउट भएपछि नेपालले १४५ रनको लक्ष्य पाएको थियो । नेपालका ओपनर आसिफ शेखले ६२ बलमा ७१ रन बनाएपछि २५ ओभर १ बलमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि रोहित पौडेलले नटआउट ३४ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २७ रनको योगदान दिएका थिए ।

यसअघि नेपालका लागि सोमपाल कामी र आदिल आलमले तीन तीन र सन्दीप लामिछानेले दुई विकेट लिएपछि स्कटल्यान्ड सस्तैमा अलआउट भएको थियो । स्कटल्यान्डमाथि एक दिवसीय खेलमा नेपालको यो पहिलो जित हो । जितपछि नेपाल नामिबियालाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । अझै नेपालले स्कटल्यान्ड र नामिबियासँग एक एक खेल खेल्नेछ ।