काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८२ जनामा पीसीआर विधिबाट तथा १ हजार ९३ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २५ संक्रमित थपिएका छन् । काठमाडौंमा १००, भक्तपुरमा सात र ललितपुरमा १८ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ४५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् भने कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर १ हजार ५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।