काठमाडौं – साताको चौथो दिन आज बुधबार सेयर बजारमा सुधार देखिएको छ । यस दिन नेप्सेसूचक ५९ दशमलव ५४ अङ्कले बढेर १९८६ दशमलव ८२ विन्दुमा पुगेको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

असार मसान्त नजिकिँदै जाँदा बजारमा चमक आएको हो । यसअघि १८०७ विन्दुसम्म झरेको नेप्से सुधार भएर करिब २१ सय विन्दु आसपास पुगेको थियो । त्यसपछि फेरि बजारमा करेक्सन आयो । करेक्सनपछि बजारमा फेरि चमक आएको हो ।

बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ । यसैगरी, आम लगानीकर्ताहरूको मनोविज्ञान पनि सकारात्मक हुन आवश्यक छ । सेयर बजारमा उतारचढाव भइरहन्छ । यो बजारको स्वाभाविक प्रक्रिया हो । बढेको बजार घट्न पनि सक्छ । सेयर बजारमा अवसरसँगै जोखिमको सम्भावना पनि अधिक हुन्छ भन्ने कुरालाई ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।

यस दिन २२५ कम्पनीको ५७ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया र नेपाल बैंक परेका छन् ।