काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैङ्कको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गर्नुभयो ।

उहाँले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गर्नुभयो । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ ।