जापान – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार गर्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनलाई घटनालगत्तै स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

आबेले एक सभामा सम्बोधन गरिरहँदा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो । उनी एक सभामा सम्बोधनका क्रममा गोली लागेर ढलेका थिए । प्रत्यक्षदर्शीहरूले उनको शरीरबाट रगत बगिरहेको देखेको र गोली पड्केको आवाज सुनेको बताएका छन् ।

उनको अवस्थाबारे स्पष्ट नभएको समाचारमा जनाइएको छ । प्राप्त विवरणअनुसार आबेलाई भाषण गर्ने क्रममा पछाडिबाट एक व्यक्तिले गोली प्रहार गरेका थिए । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरिसकेको समाचारमाध्यमहरुले जनाएका छन् । घटनाबारे थप विवरण आइनसकेको र विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उनलाई पछाडिबाट दुई पटक गोली लागेको थियो । उनको अवस्था चिन्ताजनक रहेको छ । आबेको नारा मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । उनलाई भेट्न प्रधानमन्त्री फुमियो किशिदा अस्पताल पुगेका छन् । प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारीलाई पक्राउ गरेको छ । उनको साथबाट बन्दुक बरामद भएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।