काठमाडौं– भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इङ्ग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको हो ।

जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इङ्ग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए। यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्यकुमार यादवले ३९ रनको योगदान गरे । इङ्ग्ल्यान्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए । अब, दोस्रो खेल भोलि शनिबार हुनेछ ।