चितवन – चितवनको कालिका नगरपालिकामा खेतमा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गएराति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ । रासस