फाइल तस्वीर

लन्डन – बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार सङ्कटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिनुभएको हो ।

आफ्नो सरकारमा यौन दुर्व्यवहारको आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकोमा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो । सुनकले आफ्नो राजीनामा पत्रमा ‘सरकार छाड्दा दुखी’ भएको तर सरकारलाई साथ दिन नसक्ने निष्कर्षमा पुगेको बताउनुभएको छ ।

सुनकले राजीनामा पत्रमा भन्नुभएको छ, ‘सरकारलाई सही, सक्षम र गम्भीरताका साथ सञ्चालन गर्ने जनताको अपेक्षा छ ।’ जनताले ‘सरकार सही, दक्ष र गम्भीरताका साथ सञ्चालन हुने’ उहाँले अपेक्षा गर्नुभएको छ । यसैबीच लेवर नेता सर केयर स्टाररले जोनसन सरकारको पतन हुन लागेको टिप्पणी गर्नुभएको छ ।