फाइल तस्वीर
नयाँदिल्ली – भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट भेटिएकोे छ । कम्तिमा १० वटा राज्यहरुमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनले बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो नयाँ सब–भेरियन्टमाथि नजिकबाट निगरानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

अहिलेसम्म भारतलगायत विभिन्न आठ वटा मुलुकहरुमा ओमिक्रोनको यो नयाँ सब भेरियन्ट पुष्टि भएको छ । जुलाई २ तारिखसम्म भारतको महाराष्ट्र, जम्मू कश्मीर, मध्य प्रदेश, पश्चिम बङ्गाल, दिल्ली, तेलङ्गाना, हरियाणा, कर्नाटक, उत्तर प्रदेश र हिमाचलमा यसका ६९ सङ्क्रमित फेला परेका छन् । विज्ञहरूले भाइरस कमजोर बन्दै गएपछि यसका नयाँ–नयाँ सब–भेरियन्ट आउनु स्वाभाविक भएको बताएका छन् । भारतमा हाल ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ पनि सक्रिय रहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्ला १४ दिनमा भारतमा दैनिक १० हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । सोमबार मात्र १३ हजार ८६ नयाँ सङ्क्रमित फेला परेका छन् भने २४ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १२ हजार ७६१ पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताउका छन् । एजेन्सीको सहयोगमा ।