काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा गत एक साता अघिसम्म १ प्रतिशतभन्दा कम रहेको कोरोना भाइरसको सङ्क्रमणदर केहि दिनदेखि बढेर २ प्रतिशतको हाराहारीमा पुगेको छ ।

ओमिक्रोन भेरियन्टका सब भेरियन्टका कारण छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणदर बढेसँगै नेपालमा पनि बिस्तारै त्यसको असर देखिन थालेको छ । ओमिक्रोनका यी सब भेरियन्टहरु निकै सङ्क्रामक रहेको बताइएको छ । विज्ञहरूले चाँडै नै नेपालमा कोरोनाको चौथो लहर सुरु हुने चेतावनी दिएका छन् । सङ्क्रमितको सङ्ख्या बिस्तारै बढ्न थालेपछि नेपालमा स्वास्थ्य सतर्कता बढाउन थालिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार असार १२ देखि असार १८ गतेसम्म ७ दिनमा ३ सय २५ जना सङ्क्रमित थपिएका थिए भने यही अवधिमा १ सय २४ जना सङ्क्रमणमुक्त भएका थिए । शनिबारसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ३ सय १४ पुगेको थियो । मन्त्रालयले तथ्याङ्कअनुसार असार १५ गते सबैभन्दा धेरै ६२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यो दिन सङ्क्रमण दर ३ दशमलव ८२ प्रतिशत पुगेको थियो । त्यस्तै १६ गते ५५ जनामा सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमण दर २ दशमलव ०३ प्रतिशत रहेको थियो ।