पाँचथर – अविरल वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । गए राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलबाट करिब ५ सय मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएता पनि बिहानसम्म बेपत्ता भएकाहरु फेला नपरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।