काठमाडौं – सत्तारूढ गठबन्धन दल नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध हस्ताक्षर सङ्कलन गरेका छन् । पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि मुख्यमन्त्री पाण्डेविरूद्ध हस्ताक्षर सङ्कलन गर्नुपरेको काङ्ग्रेस र माओवादी केन्द्रले जनाएको हो ।

प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न काङ्ग्रेस र माओवादीका सांसदले हस्ताक्षर सङ्कलन गर्न थालेका हुन् । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच बागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति नेपाल प्रेसले केही दिनअघि सार्वजनिक गरेको थियो । उक्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि काङ्ग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ । वि.सं.२०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । ६ महिनापछि काङ्ग्रेसले नेतृत्व पाउने गरी भएको त्यो लिखत सहमतिपत्र गोप्य राखिएको थियो ।