जनकपुरधाम – प्रतिष्ठानका संयोजकसमेत रहनुभएका गृह तथा सञ्चारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि नै बनाइएको छ । यो कार्यविधि अनुसार मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएकामध्ये आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार प्रदान गरिनेछ ।

यस्तै, शहीदका सन्तानलाई कक्षा १ देखि ६ सम्म अध्ययन गर्न १६ हजार र ७ देखि १२ सम्मको अध्ययन गर्नेलाई १८ हजार वार्षिक रुपमा एकमुष्ठ छात्रवृत्ति दिइने मन्त्री साहले बताउनुभयो । भरणपोषण भत्ता लिनका लागि शहीद परिवारलाई शहीद घोषणा भएको प्रमाण पत्र, शहीद र आश्रति व्यक्तिको नेपाली नागरिकताको प्रमाण पत्र, शहीदको एकाघरका पति÷पत्नी, छोरा, अविवाहित छोरी, आमा, बुवा भएको स्थानीय तहबाट नाता प्रमाणित, ‘क’ वर्गको बैंकमा रहेको खाता नम्बर र पान नम्बर पेस गर्नुपर्ने हुन्छ ।

छात्रवृत्ति पाउनका लागि शहीद भएको घोषणा पत्र, स्थानीय तहबाट फोटोसहतको शहीदको छोरा वा अविवाहित छोरी रहेको नाता प्रमाणित, विद्यालयको सिफारिस, नागरिकता वा जन्म दर्ताको प्रतिलिपि, ‘क’ वर्गको बैंकको खाता नम्बर र पान नम्बर बुझाउनुपर्ने प्रतिष्ठानले जनाएको छ ।