काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार नेप्सेमा २ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ४१ दशमलव ९३ अङ्क (२ दशमलव १५ प्रतिशत) ले वृद्धि भएर १९६२ दशमलव ७१ अङ्कमा बन्द भएको हो ।साताको पहिलो कारोबार दिन आइतबार करिब ९५ अङ्कको अस्वाभाविक वृद्धि भएको नेप्सेमा सोमबार र मङ्गलबार ‘करेक्सन’ देखिएको थियो ।

आज सेयरबजार नेप्सेमा वृद्धि हुँदा सबै उपसूचक बढेका छन् । विकास बैंक र वित्त कम्पनी उपसूचक ४ प्रतिशतमाथिले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि करिब ४ प्रतिशत र व्यापार उपसूचक साढे ६ प्रतिशतमाथिले बढेको छ । कारोबार पनि करिब डेढ अर्ब पुगेको छ । आइतबार र सोमबार लगातार दुई दिन दुई अर्बमाथिको कारोबार भएको थियो । मंगलबार कारोबार एक अर्ब रुपैयाँमा सीमित भएको थियो ।

दोहोरो अङ्कले बढेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको क्रमश १० दशमलव ०० र ९ दशमलव ९९ प्रतिशतले सेयर मूल्य बढेको हो । बरुण हाइड्रोपावरको ९ दशमलव ४५ प्रतिशतले सेयर मूल्य बढ्यो। यसैगरी तीन कम्पनीको ८ प्रतिशत बढीले मूल्य बढेको छ । कारोबारमा आएका १३ समूहमा हरियाली छाएको छ । यसदिन ट्रेडिङ समूहको सर्वाधिक ६ दशमलव ५६ प्रतिशतले सेयर मूल्य बढ्यो ।

यसैगरी डेभलपमेन्ट बैंक समूहको ४ दशमलव ४३ र फाइनान्स समूहको ४ दशमलव १४ प्रतिशतले मूल्य बढ्यो। हाइड्रो पावरको ३ दशमलव ९३ प्रतिशतले मूल्य बढ्दा होटल्स एन्ड टुरिज्मको ३ दशमलव ४६ प्रतिशतले सूचक बढेको हो । कारोबार रकमका आधारमा नगदी ग्रुप अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ४२ लाख बढीको सेयर कारोबार भएको छ ।