काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकोमा दुई लाख ८१ हजार ७ सय ५० कित्तामात्र बाँडफाँड भएको र बाँकी ६ लाख १८ हजार २ सय ५० कित्तासहित कूल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये ३९ हजार ३ सय ६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४ सय १३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको छ । त्यसपश्चात बाँकी रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ता शेयरमा सर्वसाधारणले असार १९ गतेसम्म आवेदन दिन पाउने तथा निष्काशन बमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनसक्नेछन् । आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी नदीको बहाव प्रयोग गरेर ११।८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआरबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । यसका साथै ‘मेरो शेयर’ एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।