फाइल तस्बिर

जनकपुरधाम– सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्याङ्कर पड्किँदा ७ जना घाइते भएका छन् । मङ्गलबार साँझ करिब सवा ६ बजेको समयमा गोडैता नगरपालिका ४ रोहुवा स्थित हुलाकी सडकखण्डमा कालोपत्र गरिने तातो अलकत्राको ट्याङ्कर बिलडिङ गर्ने क्रममा पड्किँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ट्याङ्कर पडकिँदा तातो अलकत्रा काम गरिरहेका कामदारको जिउमा पर्दा घाइते भएका उनीहरूमध्ये अधिकांशलाई वर्ण अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
ट्याङ्कर पडकिँदा गोडैता ४ रोहुवाका २० वर्षीय शिवुकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको अनुहारसहित शरीरको ६५ प्रतिशत भाग पोलिएकाले सामान्य उपचारपश्चात थप उपचारको लागि वर्ण अस्पातालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै, १७ वर्षीय अभिषेक पटेल, १८ वर्षीय अनुराग चौधरी, ३५ वर्षीय बिजुली राउत, रौतहटको माधवनारायण नगरपालिका ४ का ३० वर्षीय सुरेन्द्र हजारी, रौतहटकै गरुडा नगरपालिका ५ घर भई चन्द्रनगर गाउँपालिका ४ बस्ने ३२ वर्षीय राजिव कुमार साह र पर्साको बहुदरामाई नगरपालिका ६ गम्हरिया बस्ने ३२ वर्षीय गोपाल यादव घाइते भएको प्रहरीले जनाएको छ ।