एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक रूपमा सम्पन्न देशहरूको समूह (जी ७) को बैठकमा वार्ता र कूटनीतिक माध्यमबाट युक्रेन द्वन्द्वको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा पुग्नुपर्नेमा जोड दिनुभएको’ भारतीय विदेश सचिव विनयमोहन क्वात्राले बताउनुभयो ।

प्रधानमन्त्री मोदीले जी ७ का नेताहरूलाई युद्धले पूर्वी युरोपका साथै अन्य स्थानमा खाद्य सुरक्षामा परेको प्रभावको चर्चा गर्दै शान्ति प्रवर्द्धन एवम् द्वन्द्वको अन्त्य हुनुपर्ने बताएको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसअघि प्रधानमन्त्री मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै युक्रेन र रूसका राष्ट्रपतिबीचको प्रत्यक्ष वार्ताले जारी द्वन्द्व समाधान तथा शान्ति प्रयासमा ठूलो सहयोग पुग्ने सुझाव दिनुभएको थियो । उहाँले युक्रेका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि वार्ता गर्दै द्वन्द्वबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त प्रकट गर्नुभएको थियो ।

हाल युक्रेन युद्ध पाँचौँ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ । सोमबार किएभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रुसमाथि युद्ध अपराधको आरोप लगाएको छ । एक हजारभन्दा बढी सर्वसाधारण किनमेलमा व्यस्त रहेका बेला गैर सैनिक क्षेत्रमा रुसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा व्यक्त गरेका छन् ।