काठमाडौं – प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ३१ गतेबाट १ हजार रुपैयाँ अङ्कित दरले रु. ५ अर्बको कुल ५० लाख कित्ता ऋणपत्रमा आवेदन खुला गरेको थियो । यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन प्राप्त नभएको) लाई बिक्री गर्नेछ । यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १० दशमलव १५ प्रतिशत ब्याज पाउनेछन् ।