किभ – युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमण भएको छ । आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ भने मिसाइल हमलामा ५९ जना घाइते भएका छन् ।

युक्रेनको आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकका अनुसार ‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन् ।

उनले सपिङ सेन्टरमा हमला भएपछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको बताएका छन् । आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।

‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । क्रेमेन्चुक सहरको जनसंख्या २ लाख २० हजार छ । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।