काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनामा नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३६ जनामा र एन्टिजेन विधिबाट ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १८ जना र ललितपुरमा ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा २० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ । केही दिनदेखि निरन्तर उकालो लाग्दै गएको कोरोना सङ्क्रमणपछि हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर २ सय ८ जना पुगेको छ ।