फाइल तस्वीर

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताउनुभएको छ । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले सो कुरा बताउनुभएको हो ।

‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भन्नुभयो, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’ करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै अर्थमन्त्री शर्माले यसको विरोध गर्नुको औचित्य नभएको बताउनुभयो । उहाँले करको दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि दाबी गर्नुभयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो, तर घटाउन पाइन्न भन्न पाइन्न । कसरी अर्थमन्त्री अनैतिक भयो ? मेरो अधिकारको कुरा हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु हुन्न ।’ बजेटको लक्ष्य र प्राथमिकता पूरा हुने भन्दै उहाँले बजेटले सबै वर्ग र क्षेत्रको सुझाव तथा छलफल स्वीकार गरेको पनि उल्लेख गर्नुभयो । अर्थ मन्त्री शर्माले बजेट देश र जनताको पक्षमा ल्याएका कारण आफ्नो खेदो खनिएको दाबी समेत गर्नुभयो ।