काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । बैंकले सो ऋणपत्र भोलि मङ्गलबार सार्वजनिक बोलकबोल मार्फत जारी गरिने जनाएको छ ।

बैंकले आज एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको सर्त पुरा गरेर तोकिएकै समयभित्र दरखास्त दिन आह्वान गरेको छ । आगामी बुधबार निष्काशन हुने यस ऋणपत्रको बोलकबोल भोलि अपरान्ह ३ बजे हुने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले कुल ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीमार्फत र बाँकी १५ प्रतिशत अर्थात् २ अर्ब २५ करोड रुपैयाँ विना प्रतिस्पर्धा बाँडफाँड गरिने समेत जनाएको छ । ऋणपत्रको ब्याज भुक्तानी बैंकले अर्धवार्षिक (६/६ महिना) मा गर्ने बताएको छ ।