सांकेतिक तस्वीर

दमौली–– तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदी खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले तनहुँले जनाएको छ ।

घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँचसय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । घरबाट हराएपछि आफन्तजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा चुँदी खोलाले बगाएको अवस्थामा बालिका फेला परेकी थिइन् । बालिकालाई तत्कालै उपचारका लागि पुरनडिही अस्पताल पुर्याइए पनि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।