साङ्केतिक तस्वीर


दाङ – भारतीय जङ्गलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा रासन किन्न गएका दाङको राजपुर गाउँपालिका–६ निवासी सिता घर्ती र सिमा नेपाली (नाम परिवर्तन)लाई भारतीय युवाहरूको समूहले रुखमा बाँधेर सामूहिक बलात्कार गरेको सूचना आएको जिल्ला प्रहरी कार्यालयका दाङले जनाएको छ ।

हरेक आइतबार भारतको मनिपुरमा हाटबजार लाग्ने गर्छ । आइतबार ६ जना युवती नेपालबाट मनिपुर बजारमा रासन किन्न गएका थिए । त्यसैक्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जङ्गलमा दुई युवतीलाई रुखमा डोरीले बाँधेर भारतीय युवाहरूको समूहले बलात्कार गरेका हुन् । नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजाबाट करिब चार किलोमिटर भारततर्फको जङ्गलमा घटना भएको हो । उनीहरूसँगै गएका अन्य चार युवतीलाई कन्चटमा पेस्तोल ताकेर ’तिमीहरु बोल्यौ भने गोली हानेर मार्दिन्छौँ’ भनेर धम्काउँदै कुटपिट समेत गरिएको पीडितले जानकारी दिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भारतीय युवाको समूहले युवतीहरूलाई कुटपिट गर्दै कान नाकमा लगाएका गहना, नगद र मोबाइल समेत लुटेका छन् । कुटपिटबाट महिलाहरूको शरीरमा निलडाम भएको छ । उनीहरूलाई उपचारका लागि भारतीय अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।