फाइल तस्वीर

एजेन्सी – संयुक्त राज्य अमेरिकाले जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रुसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।

यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुको छ, ’जी–७ समूहले रुसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रुसको प्रमुख निर्यात हो ।’ रुसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ । सुरुमा बेलायतले यस उपायलाई अघि सारे पनि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन् ।

जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी–७ समूह अन्तर्गतका अन्य सदस्यले पनि भोलि मङ्गलबार यस विषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रुसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो । यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो ।