काठमाडौं – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालु आ.वको भन्दा सात अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँले आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने बताउनुभयो । चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो । चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीन अर्ब ७५ करोड ७७ लाख रुपैयाँ, आर्थिक विकास क्षेत्रमा ५५ करोड रुपैयाँ, सामाजिक विकासमा रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासमा रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो । आगामी वर्षका लागि महानगरले आज शुक्रबार बजेट ल्याउन तयारी गरेको छ ।