कास्की – पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका मेयर धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम ल्याउनुभएको छ । यसको नारा नै कृषि उत्पादनमा वृद्धि महानगरको समृद्धि रहेको छ ।

यसअनुसार ५ वर्षभित्र दूध, फलफूल, तरकारी माछामासुको आयात प्रतिस्थापनमा जोड दिइने उल्लेख गरिएको छ । रैथाने कृषि उपज संरक्षण, संवर्द्धन र व्यवसायीकरण गर्ने नीति अघि सारिएको छ । पोखरा महानगरले मीठा नाराहरु नीति तथा कार्यक्रममा समावेश गरेको छ । जस्तो बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म अनुसार कृषि उत्पादनलाई बजारीकरण गरिने उल्लेख छ । एक वडाः एक पशुपन्छी तथा बाली उत्पादन पकेट कार्यक्रम, माटो नै जीवन हो, पशु उतपादनमा वृद्धिः आर्थिक उपार्जनसहितको समृद्धि, कृषकहरुको पहुँच र पहिचान, व्यावसायिक कृषकहरुको संरक्षण र सम्मान जस्ता कार्यक्रम अघि सारिएको छ ।

रोजगारीतर्फ पोखरा महानगरले हरेक आवको पहिलो छ महिनामा ३ हजार रोजगारी थप गर्ने योजना बनाएको छ । यसबाहेक महानगर विशेष स्वरोजगार कार्यक्रम, न्यूनतम रोजागरीको प्रत्याभूति, बेरोजगारीको सीप र क्षमतालाई आधार लिई तथ्याङ्क सङ्कलन र अभिलेख व्यवस्थापन गरी श्रम बजारको आवश्यकताअनुसार सीप तथा तालिम दिने उल्लेख गरिएको छ ।

उद्योग तथा सहकारीतर्फ महानगरले सहकारी संस्थालाई व्यावसायिक कृषिमा लगानी र पुँजी परिचालन गराउने, महानगर, सहकारी र समुदायको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग व्यवसायमा लगानी विस्तार गर्ने नीति लिइने उल्लेख गरिएको छ । महानगरका ३३ वटै वडामा कम्तीमा १ सहकारी एक व्यावसायिक उत्पादनमार्फत रोजगारी सिर्जना गर्ने नीति लिइएको छ । सहकारीमार्फत उत्पादित वस्तुको प्रशोधन, भण्डारण र बजारीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । पोखरेली चामल जेठोबुढो धान लगायत आफ्ना उत्पादनलाई ब्रान्ड गरिने, पोखरा महानगर प्रोजेक्ट बैंक व्यवस्था गरिने, उद्योग व्यवसाय सहायता र सहजीकरण डेस्क व्यवस्था गरिने भएको छ ।