काठमाडौं – चिकित्सकको सिफारिसबिना लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरुलाई औषधि बेचबिखन गर्ने चार जना पक्राउ परेका छन् । डाक्टरको पूर्जीबिना नै औषधी बेच्दै गरेका फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् ।

गङ्गाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलिले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।