ताप्लेजुङ – वर्षात्को समय लगातारको वर्षाले पूर्वी पहाडी जिल्लामा पहिरो जाने क्रम बढ्दै गएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष बुद्धि दाहालका अनुसार पहिरोको त्रासका कारण ६३ परिवारले बासस्थान छाडेका छन् । पहिरोका डरले लत्ताकपडा, खाद्यान्न र चौपाया लिएर सुरक्षित स्थानमा स्थानीयहरू गएको वडा अध्यक्ष दाहाललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

‘वडा अध्यक्षज्यूले ६३ घरपरिवार पूर्णरूपमा विस्थापित भएको जानकारी दिनुभएको छ । विस्थापित परिवारको यकिन विवरण सङ्कलन गर्न, उनीहरूलाई राहत तथा पुनः स्थापनाका लागि प्रहरीको टोली पहिरो प्रभावित क्षेत्रमा पुगिसकेको छ,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । सोमबार बेलुका गएको पहिरोमा परेर एक जना घाइते भएका छन् । पहिरोमा परी घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पाँचथर लगिएको प्रहरीले बताएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले सोमबार बेलुका पहिरो जाँदा भाग्ने क्रममा बुद्धिराज लिम्बू घाइते भएको बताउनुभएको छ । लिम्बूसहित दुई जना कुरुवालाई नेपाली सेनाको हेलिकोप्टरबाट फिदिम पु¥याइएको उहाँले जानकारी दिनुभयो । घाइतेको फिदिम अस्पतालमा उपचार भइरहेको छ ।

विस्थापितलाई मङ्गलबार दिउँसो सेनाको हेलिकप्टरले पाल, कम्बल, चामल लगायत खाद्य सामग्री पहिरो प्रभावित क्षेत्रमा पु¥याइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । ‘आज यही गाउँपालिका ६ खेवाङको राहत सामग्री लैजानु थियो,’ पोख्रेलले भन्नुभयो, ‘हिजो बेलुका मामांखेमा पनि विस्थापित भएपछि एक ट्रिप सामान त्यहाँ झारेका छौं । तत्काललाई यसले राहत पुग्ने छ ।’